काठमाडौं- भारत र इंग्ल्यान्डबीचको एकदिवसीय र टी–२० क्रिकेट सिरिज स्थगित भएको छ।
शुक्रबार भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले २०२१ सम्मको लागि भारत र इंग्ल्यान्डको एकदिवसीय र टी–२० क्रिकेट सिरिज स्थगित भएको जानकारी दिएको हो। पूर्व निर्धारित तालिकाअनुसार आउँदो सेप्टेम्बर र अक्टोबरमा भारत र इंग्ल्यान्डबीच ३ खेलको एकदिवसीय र ३ खेलकै टी–२० क्रिकेट सिरिज थियो।
यही समयमा आइपिएलको प्रतियोगिता हुँदा अन्तर्राष्ट्रिय सिरिज सारिएको बिसिसिआईले उल्लेख गरेको छ। अब २०२१ को जनवरी अन्तिमदेखि मार्चभित्र इंग्ल्यान्डले पाँच खेलको टेस्ट क्रिकेट सिरिज खेल्न भारत भ्रमण गर्नेछ। त्यही बेला एकदिवसीय र टी–२० सिरिज हुने भएको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) युएईमा सेप्टेम्बर १९ देखि सुरु हुँदैछ। कोरोना भाइरस (कोभिड–१९) को कारण भारतले युएईमा आइपिएल गर्न लागेको हो। टी–२० विश्वकप २०२१ मा सरेसँगै आइपिएल गर्ने बाटो खुलेको थियो। योसँगै इंग्ल्यान्डको भ्रमण भने आइपिएलले गर्दा सरेको हो। यसअघि आइपिएलकै कारण अस्ट्रेलिया र वेष्ट इन्डिजबीचको खेल पनि स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।