काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीकाे काेराेना रिपाेर्ट नेगेटिभ आएकाे छ। यस्तै उनका निकटकाहरूको पनि रिपाेर्ट नेगेटिभ आएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
सचिवालयका अनुसार शुक्रबार बिहान साढे ८ बजे प्रधानमन्त्री ओली र उनी निकटमा भई काम गर्ने सचिवालयका कर्मचारीहरूको स्वाब संकलन गरी परीक्षण गरिएकाे थियाे। प्रधानमन्त्री ओलीसँगै उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापालगायत पहिलाे सुरक्षा घेरामा रहेका सुरक्षाकर्मीको काेराेना परीक्षण गरिएकाे थियाे।
कोरोना संक्रमण पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्रीसहितकाे काेराेना परीक्षण गरिएकाे हाे। केही दिनअघि मन्त्री यादव प्रहरी समायोजनसम्बन्धी बालुवाटार बैठकमा सहभागी भएका थिए। यादव प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा र सातै प्रदेशका आन्तिरिक मामिलामन्त्रीको बैठकमा सहभागी भएका थिए। यादव काठमाडौंबाट फर्किए लगतै पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।