काठमाडौं– इंग्ल्यान्डसँगको टेस्ट क्रिकेट सिरिजको पहिलो खेलमा पाकिस्तानका लागि बाबर अजाम र शान मसोदले उत्कृष्ट खेल्दै टिमलाई उकास्ने प्रयास गरेका छन्।
४३ रन हुँदा दोस्रो विकेट गुमाएको पाकिस्तानका लागि पहिलो दिनको समाप्तिसम्ममा बाबर र शानले ९६ रनको साझँदारी गर्दै २ विकेटको क्षतिमा १३९ रनमा पुर्याए। पाकिस्तानका अविद अली १६ रनमा पहिलो विकेटको रुपमा आउट हुँदा दोस्रो विकेटको रुपमा कप्तान अजर अली शुन्य रनमै आउट भए। तर तेस्रो विकेटका लागि बाबर र शानले उत्कृष्ट खेल्दै टिमलाई सम्हाले।
वर्षाको कारण प्रभावित भएको खेल पहिलो दिन ४९ ओभरको मात्रै भयो। ४९ ओभरमा पाकिस्तानले २ विकेटको क्षतिमा १३९ रन बनाएको छ। बाबर ६९ रनमा अविजित छन्। उनले १०० बलको सामना गर्दै ११ चौका प्रहार गरेका छन्।
त्यस्तै, ओपनर शान ४६ रनमा अविजित छन्। इंग्ल्यान्डका लागि क्रिस वोक्स र जोफ्रा आर्चरले समान १–१ विकेट लिएका छन्। पाकिस्तानले बिहीबार (आज) दोस्रो दिन यहि स्थितिबाट ब्याटिङ थाल्ने छ।
इंग्ल्यान्ड भ्रमणमा रहेको पाकिस्तानले घरेलु टिमसँग ३ खेलको टेस्ट क्रिकेट सिरिज र ३ खेलकै टि–२० क्रिकेट सिरिज खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।