काठमाडौं- कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दी अवधिमा ६१ प्रतिशत उद्योग बन्द भएको एक अध्ययनले देखाएको छ।
नेपाल राष्ट्र बैंकले गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदनमा बन्दाबन्दीको अवधिमा नेपालका ३९ प्रतिशत उद्योग मात्र पूर्ण वा आंशिक रुपमा सञ्चालनमा रहेको उल्लेख गरेको हो।
बुधबार सार्वजनिक सो अध्ययनमा बन्दाबन्दीको अविधमा मात्रै उद्योग/व्यवसायले करिब एक चौथाइ कर्मचारी/कामदार कटौती गरेको समेत उल्लेख छ। यसरी कटौती हुनेमध्ये अस्थायी/करारका कामदार दुई तिहाइभन्दा धेरै रहेको छ।
बन्दाबन्दीमा उद्योग/व्यवसायहरुले कार्यरत कर्मचारीको पनि औसतमा १८ प्रतिशतभन्द बढी तलब कटौती गरेको पाइएको छ। बन्दाबन्दी अवधिमा ९६.७ प्रतिशत उद्योग/व्यवसायहरुको उत्पादन/कारोबार ७३.८० प्रतिशतले घटेको पाइएको सो अध्ययनले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।