सर्लाही- जिल्ला प्रशासन कार्यलय सर्लाहीले बुधबार (आज)देखि जिल्ला लकडाउन गरेकाे छ। मंगलबार बसेको सरोकारवालाहरुको बैठकले लकडाउन गर्ने निणर्य गरेकाे प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। ‘धेरै आवातजावत भयो। सामाजिक दूरी कायम भएन,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘हामीले आजै बिहान ६ बजेबाट लागू हुने गरी साउन २७ गते राति १२ बजेसम्म लकडाउन गरेका छौँ।’
लकडाउन अवधिमा औषधाैपचार खाद्यन्न खरिद, पेट्रोलियम पर्दाथ खरिदबाहेक अन्य काममा घरबाहिर ननिस्कन आग्रह गरिएको छ। त्यस्तै अनुमति प्राप्त सवारीसाधन एम्बुलेन्स, दमकल, खाद्यान्न बोकेका बाहेक अन्य निजी यातायात सञ्चालन गर्न, हाटमेला सञ्चालन गर्न, आमसभा, भेला तथा सम्मेलन र भोजभतेर गर्न पाइने छैन।
जिल्ला प्रशासन कार्यलयका अनुसार सबैकाे कोरोना परीक्षण भइसकेकाे छैन। काेराेना संक्रमण बढेकाे आशंका बढेपछि हेरक पालिकाले ३ सय जनाको पिसिआर टेस्ट गर्ने योजना बनेकाे छ। जिल्ला प्रशासन कार्यलयको तथ्यांकअनुसार अहिलेसम्म जिल्लाभर कोरोना संक्रमितको संख्या ७ सय ५२ जना पुगेकाे छ। जसमा ६ सय ९६ जना निको भएर घर गइसकेका छन् भने ५६ जना वीरगञ्ज, जनकपुर र विराटनगरमा उपचाररत छन्।
यसअघि साउन १४ गते जिल्ला प्रशासन कार्यलयले स्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालाना गर्ने सर्तमा केही सेवा र कार्यहरु सञ्चालन गरेकाे थियाे। प्रशासनले सामाजिक दूरी कायम राख्ने, विना मास्क घर बाहिर हिंडडुल नगर्ने, अनाआवश्यक भीडभाड नगर्ने, सेवा प्रदायक निकाय वा संस्थाले स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्न गराउन आग्रह गरेको थियो।
यो सूचना उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने बताइए पनि नियम पालना हुन नसकेका कारण संक्रमण बढेकाे जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले बताए।
‘यहि बसेकाले पनि नियम उल्लंघन गर्न थाले,' सभापति चौधरीले भने, ‘भारतबाट मजदुर आउन] थाहा पाएपछि लकडाउन गरेका हौँ।’ सभापति चौधरीका अनुसार भारतबाट मजदुर आए क्वारेन्टाइनमा राखिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।