काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगितालाई फेरि अर्को चुनौती थपिएको छ। २०१७ देखि मुख्य प्रायोजकको रुपमा रहेको चिनियाँ मोबाइल उत्पादन कम्पनी भिभो आइपिएलको मुख्य प्रायोजकबाट हटेपछि चुनाैती थपिएकाे हाे। मुख्य प्रायोजकको रुपमा रहँदै आएको भिभो १३औं संस्करणको आइपिएलमा अलग भएसँगै अब मुख्य प्रायोजक खोज्नु पर्नेछ।
भिभो आइपिएलको मुख्य प्रायोजकबाट हटेको विषयमा विभिन्न टिकाटिप्पणी पनि सुरु भएको छ। यो विषयलाई भारतीय सञ्चारमाध्यले मुख्य प्राथमिकतामा राखेका छन्। भिभो अलग हुनुमा कतिपयले भारत र चीनबीचको सीमा विवाद मुख्य कारण मानेका छन् भने कतिपयले कोरोना भाइरस (कोभिड–१९)लाई पनि कारण मानेका छन्।
भारत र चीनबीचको गलवाल उपत्यकामा सीमा विवादमा झडप हुँदा २० भारतीय सेना मारिएका थिए। भारत चीनबीचको बढ्दो विवादको कारण आइपिएलमा भिभोलाई मुख्य प्रायोजकबाट हटाउनु पर्ने दबाब भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)लाई थियो।
२०१७ देखि २०२२ सम्म ५ वर्षका लागि भिभोले आइपिएलमा मुख्य प्रायोजक गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार ५ वर्षमा आइपिएललाई ३ सय ४१ मिलियन अमेरिकी डलर उपलब्ध गराउने सहमति थियो। यो सिजनको आइपिएलमा भिभोले मुख्य प्रायोजन नगरे पनि आउने सिजनदेखि फेरि आइपिएलमा प्रायोजन गर्ने बिसिसिआईले विश्वास गरेको छ।
कोरोना भाइरसको कारण १३औं संस्करणको आइपिएल युएईमा हुँदैछ। युएईमा आइपिएल गर्न भारत सरकारले केही दिनअघि मात्रै अनुमति दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।