काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरूमा गरिएको कोरोना परीक्षणमा १५ जनामा रिपाेर्ट पोजिटिभ देखिएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पिसिआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो।
१ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो। संक्रमण देखिएका सबै सुरक्षाकर्मी भएको अख्तियार स्रोतले जनाएको छ। अख्तियारबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका एक सईमा संक्रमण पुष्टि भएपछि अख्तियारमा कोरोना परीक्षण गरिएको थियो।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार स्वाब परीक्षणका लागि दिइएको भएपनि त्यसको नतिजा आएकोबारे औपचारिक जानकारी सार्वजनिक हुने उनले बताए। ‘केहीलाई देखिएपछि उहाँहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने र त्यसअनुसार थप अरुको पनि परीक्षण गरिन्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।