काठमाडौं- अस्ट्रेलियाले घरेलु मैदानमा वेस्ट इन्डिजसँग खेल्ने तय भएको टी ट्वान्टी सिरिज स्थगित भएको छ। कोरोना भाइरसका कारण सिर्जित परिस्थितिले नै सिरिज स्थगितको निर्णय गर्नुपरेको बताइए पनि त्यसमा विशेष त इन्डियन प्रिमियर लिग (आइपिएल) कारण रहेको आलोचना भइरहेका छन्।
पूर्वतयारीअनुसार अस्ट्रेलिया र वेस्ट इन्डिजले अक्टोवर ४, ६ र ९ मा तीन टी ट्वान्टी खेल्ने जनाइएको थियो। अस्ट्रेलिया र वेस्ट इन्डिजबीचको सिरिज स्थगित भएसँगै अब युइएमा आइपिएल हुने भनिएको सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट तालिका रहेको छैन।
आइपिएलका लागि एक दिन मात्र तालिका जुध्ने श्रीलंकामा हुने भनिएको लंका प्रिमियर लिगसँग मात्रै हो। लंका प्रिमियर लिग सेप्टेम्बर २० मा सकाउने गरी तयारी भइरहेको छ। तर आइपिएलका कारण नै लंका प्रिमियर लिगको पनि मिति सर्न सक्ने अनुमान भइरहेका छन्। तर आइपिएलमा दुई श्रीलंकन खेलाडी (लसिथ मालिङ्गा-मुम्बई, इसुरु उडाना-बैंग्लोर) मात्र सामेल छन्।
अस्ट्रेलियाले लिमिटेड ओभर खेलका लागि इंग्लान्ड जाने गरी गरेको तयारी पनि सेप्टेम्बर १५ मा सकाउने योजना बनिरहेको छ। जसबाट आइपिएलमा जान खेलाडीहरुसँग पर्याप्त समय रहनेछ।
सबैजसो क्रिकेट बोर्डले आफ्ना खेलाडीहरुलाई आइपिएलमा जाने अनुमति दिएका छन्। त्यसमा दक्षिण अफ्रिकाले मात्र खेलाडीहरुलाई अहिले कुनै निर्णय दिइसकेको छैन। दक्षिण अफ्रिकाले यात्रु आउन जान मिल्ने गरी हवाइ यातायात पनि खोलेको छैन।
यसअघि आइपिएलकै कारण दक्षिण अफ्रिकी क्रिकेट टिमले वेस्ट इन्डिज र श्रीलंकासँग खेल्ने भनिएको सिरिज पनि अनिश्चित समयका लागि स्थगित भएको थियो। त्यसमा आइपिएलका साथै क्यारेबियन प्रिमियर लिग (सिपिएल)लाई पनि कारण मानिएको छ।
दक्षिण अफ्रिकाले वेस्ट इन्डिजसँग दुई टेस्ट र पाँच टी ट्वान्टी साथै श्रीलंकासँग तीन एकदिवसीय र तीन टी ट्वान्टी खेल्ने तय भएको थियो। विश्वका अरु देशको तुलनामा श्रीलंका र वेस्ट इन्डिजमा कोरोना संक्रमणको दर कम भएको भए पनि फ्रेन्चाइज क्रिकेट लिगहरुका कारण महत्वपूर्ण सिरिज हुन नसकेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।