काठमाडौं- गएको हप्ता सकिएको वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको टेस्ट सिरिजको केन्द्रमा थिए, स्टुआर्ट ब्रोड। सिरिजको पहिलो खेलमा इंग्याण्ड टिममा नपरेका ब्रोडले बाँकी दुई खेलमा १६ विकेट लिए। जसले उनी प्लेयर अफ दि सिरिज पनि बने।
तीब्र गतिका बलर ब्रोडले ३४ वर्षको उमेरमा जुन खेल देखाए त्यो तारिफयोग्य रह्यो। तर उनी झण्डैझण्डै त्यो उत्कृष्ट अवसरबाट बञ्चित भइसकेका थिए। जसले उनलाई सन्यासको सोचमा समेत पुर्याएको थियो। पहिलो टेस्टमा टिममा नपर्दा आफूले सन्यास लिने सोचेको ब्रोड बताउँछन्।
साउथह्याम्पटनमा भएको पहिलो टेस्टमा ब्रोड टिममा थिएनन्। खेल वेस्ट इन्डिजले चार विकेटले जित्यो। त्यसपछिका दुई टेस्टमा ब्रोड टिममा फर्किन पाए। जसमा दुवै खेल इंग्ल्याण्डले जित्नुका साथै ब्रोडले टेस्ट क्रिकेटमा पाँच सय विकेट पुर्याउने अवसर पाए।
तीब्र गतिका बलरमा पाँच सय विकेट पूरा गर्ने ब्रोड चौथो खेलाडी हुन्। जसमा उनले घरेलु मैदानमा ७९ खेलमा ३ सय २० विकेट र अवे मैदानमा ६१ खेलमा १ सय ८० विकेट लिएका छन्।

‘पहिलो टेस्टमा टिममा नपर्दा त म निकै कमजोर महसुस गरेको थिएँ। जसले गर्दा अब सन्यास लिनुपर्ला भन्ने सोच समेत आएको थियो। जतिबेला ब्रेन स्टोक्सले तिमी खेल्दैनौ भनेका थिए त्यो बेला त मेरो पूरा शरीर कामेको जस्तो भयो, केही बोल्नै सकिनँ’, ब्रोडको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ, ‘मलाई मैले खेल्नुपर्छ भन्ने लागिरहेको थियो। म टिममा स्थान बनाउन योग्य छु भन्ने पनि लागिरहेको थियो।’
टेस्टमा पाँच सय विकेट पूरा गर्ने खलाडीहरु ब्रोडभन्दा अघि ६ जना मात्र छन्। दुई सिरिजमा ब्रोडले १०.९३ को एभरेजमा लिएको १६ विकेटले उनको १ सय ४० टेस्ट खेल सार्थक बनायो।
‘मैले यो कुरा कसैलाई भनेको त थिइनँ तर निकै कमजोर महसुस भएको थियो। म होटलबाट बाहिर निस्कन समेत सकिनँ। म दुई दिनसम्म निदाउँन पनि सकिनँ। मैले जस्तो महसुस गरिरहेको थिएँ त्यसले केही फरक निर्णय आउन सक्थ्यो’ आफूले अब टेस्ट क्रिकेटमा ६ सय विकेट पूरा गर्ने सोच बनाएको बताउँदै उनले भने।
२००७ मा श्रीलंकाविरुद्धको खेलबाट टेस्ट डेब्यू गरेका ब्रोडले पहिलो खेलमा एक विकेट लिएका थिए।
‘गएको १८ महिनामा मैले टेस्टमा २०.५ को एभरेजमा विकेट लिएको छु। अहिले मेरो उमेरलाई बिर्सिएर जोसुकैले जुनसुकै उमेरमा त्यो शैलीमा बलिङ गरुन्, उनलाई अतित नहेरिनै टिममा राखिनेछ’ ब्रोडले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।