काठमाडौं- चिकित्सकहरुले कोभिड १९ रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमणले भयावह रूप लिने चेतावनी दिएका छन्।
सरकारले कोभिड १९ रोकथामका लागि गरेको कामको प्रकृति हेर्दा केही हप्ताभित्र नै संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने संकेत देखिएको चिकित्सकहरुले बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले अहिलेसम्म कोभिड १९ को संक्रमण रोगको रुपमा नदेखिएको तर समुदायस्तरमा फैलिँदै गए रोगको रुपमा देखापर्न सक्ने बताए।
'कोभिड रोकथामका लागि सरकारले गरेको कामलाई हेर्दा अबको केही दिनभित्रै संक्रमण रोगको रुपमा देखापर्ने निश्चित भएको छ,' डा. दिक्षितले भने, 'सरकारले पिसिआर परीक्षणलाई बढाउँदै लैजानुपर्नेमा घटाउँदै लगेको र समुदायमा संक्रमण देखिदै गएकाले स्थिति भयावह बन्न सक्छ।'
इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनीले संक्रमण एकठाउँबाट अर्को ठाउँमा जाने अवस्थाबाट जोगाउनुपर्ने बताए। 'संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाइ गर्नुपर्ने र काठमाडौं उपत्यकासहित सीमा क्षेत्रमा रहेका बस्तीमा परीक्षणको दायरा बढाउनुपर्छ,' डा मरासिनीले भने।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा अनुप बास्तोलाले मानिसहरुको आवागमनलाई व्यवस्थित बनाउन नसके काठमाडौं उपत्यकाको अवस्था केही हप्ताभित्रै भयावह हुनसक्ने बताएका छन्।
'जोखिमयुक्त ठाउँबाट आएका मानिसहरु क्वारेन्टाइनमा नबस्दा नै समुदायस्तरमा संक्रमण फैलिएको छ। संक्रमण रोकथामको उपाय लकडाउनमात्रै नभएकाले आवश्यक सावधानी सबैले अपनाउनुपर्छ,' डा. बास्तोलाले भने।
सरकारले लकडाउन खोलेपछि मानिसहरुको आवागमन पनि बढेको छ‚ जसले गर्दा समुदायस्तरमा संक्रमणका केसहरु देखिएका छन्। तर पिसिआर परीक्षणलाई अझै बढाएको देखिदैन‚ जसले गर्दा संक्रमण समुदायस्तरमा भित्रभित्रै फैलँदै जाने र स्थिति थप जटिल बन्न सक्ने जोखिम बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।