काठमाडौं–नक्कली सुन प्रकरणमा प्रयोग भएको आशंकामा बरामद भएको गाडीको इन्जिन नम्बर र च्यासिस नम्बर प्रहरीले फेला पारेको कागजातसँग मिलेको छ। प्रहरीले गत शुक्रबार ललितपुरको नखिपोटबाट बा ६ च ५५१९ नम्बरको स्कोर्पियो बरामद गरेको थियो।
यसअघि सिसिटिभी फुटेजमा भर्याङ भएको लुकिङ ग्लास देखिएकाले बरामद गाडी तस्करीमा संलग्न नभएको पनि हुन सक्ने बताइएको थियो।तर प्रहरीले बरामद गाडीका कागजातसमेत फेला पारेकाले सो कागजात अनुसारकै गाडी भएको पत्ता लागेको काठमाडौ परिसरका डिएसपी राजकुमार केसीले बताए।
स्कोर्पियो गाडीले फालेर हिंडेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुन बरामद गरेको थियो।
उक्त स्कोर्पियो काठमाडौं उपत्यकामै लुकाएर राखेको हुनसक्ने आशंकामा खोजी तीव्र बनाएको प्रहरीले ललितपुरको नखिपोटबाट बरामद गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।