काठमाडौं-विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई भाषा परीक्षा शुल्कबापत विदेशी मुद्राको सटही सुविधा लिँदा अग्रिमरूपमा कर असुल गर्नुपर्ने भएको छ। यसरी सटही सुविधा उपलब्ध गराउँदा परीक्षा शुल्कमा अग्रिम रूपमा कर असुल गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।
राष्ट्र बैंकको विदेशी विनिमय विभागले एकीकृत परिपत्र जारी गर्दै भनेको छ, 'विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई भाषा परीक्षा तथा मानकीकृत परीक्षण शुल्कबापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउँदा परीक्षा शुल्क बापतको रकममा आयकर ऐन २०५८ को दफा ९५ (क)ले तोकेबमोजिमको अग्रिम कर असुल गर्नुपर्दछ।'
आयकर ऐन २०५८ को दफा ९५ मा दाखिला गर्नुपर्ने अनुमानित करको विवरणको विषय उल्लेख छ। यसको 'क'मा रोजगारी, यवसायी र लगानीको प्रत्येक स्रोबाट उक्त व्यक्तिले सो वर्षमा प्राप्त गर्न सक्ने निर्धारणयोग्य आय तथा त्यस्तो आयको स्रोतको विषय उल्लेख छ।
यसैगरी विदेशमा हुने प्रदर्शनी र व्यापार मेलामा नेपाली वस्तु बिक्री गरेबापत ५ हजार अमेरिकी डलरभन्दा धेरै नगद भित्र्याउँदा भन्सारमा घोषणा गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ संशोधन गर्दै व्यापार मेला तथा प्रदर्शनीमा नेपाली वस्तु बिक्रीमा हुने आम्दानी नगदमै नेपाल भित्र्याउँदा घोषणा गर्नुपर्ने व्यवस्था गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।