सिसिएमसी बैठकको फाइल तस्बिर
काठमाडौं- कोभिड- १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) निर्देशक समितिको बैठकले कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ। बिहीबार बसेको समिति बैठकले लकडाउन खुकुलो भएपछि संक्रमण जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी पिसिआर परीक्षणको दायरा बढाउने निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आवश्यकताअनुसार संक्रमण देखिएको ठाउँ सिल गरेर पिसिआर परीक्षणको दायरा बढाइने बताए। भदाै १ गतेबाट सुरु हुने सेवा क्षेत्र सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड तयार पार्न पनि बैठकले सम्बन्धित मन्त्रालयहरुलाई जिम्मेवारी दिएको छ।
पछिल्लो समय काठमाडौं उपत्यका प्रवेश गर्नेहरुको पिसिआर परीक्षण गरिहेको सरकारले अब प्रवेश बिन्दुमा नै क्वारेन्टाइन व्यवस्थापन गर्ने भएको छ।काठमाडौं प्रवेश गर्ने नाकामा गरीएको परीक्षणमा संक्रमण देखिन थालेपनि प्रवेश नाकामै क्वारेन्टाइनको व्यवस्था गरिने उनले बताए।
बैठकले लकडाउन खुकुलो भएको केही दिनयताको परीक्षण नतिजा विश्लेषण गरी आगामी रणनीति तय गर्ने निष्कर्ष पनि निकालेको छ। स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूर्ण रुपमा पालना नभएका कारण संक्रमणको जोखिम बढेको सिसिएमसीले ठहर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।