काठमाडौं- गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्न निर्देशन गरेको छ। बिहीबार मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै उपत्यकामा भित्रिने प्रायः मानिसमा कोभिड-१९ संक्रमण देखिएको भन्दै कडाइ गर्न निर्देशन जारी गरेको हो।
उपत्यकामा रातको समयमा काठमाडौं प्रवेश गर्ने सवारीलाई समेत आवतजावतमा पूर्णतः रोक लगाइएको छ। बिहीबारदेखि नै लागू हुनेगरी बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्मका लागि सवारी आवतजावतमा पूर्णतः रोक लगाउन मन्त्रालयले निर्देशन जारी गरेको छ।
उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला आवागमन पास नदिनका लागि निर्देशन जारी गरेको छ। पासबिना अन्तर जिल्ला आवागमन पूर्णरूपमा बन्द गराउन समेत निर्देशन दिएको छ।
विज्ञप्तिमा नाकामा थप कडाइ गर्दै पूर्ण निगरानीका साथै चेकजाँचको व्यवस्था गर्न समेत निर्देशन गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।