काठमाडौं- साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुन बरामद प्रकरणमा तानिएका डिएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइएको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपीका रूपमा कार्यरत रहेका दाहाललाई प्रहरी प्रधान कार्यालयले जिम्मेवारीबाट हटाउँदै प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज तानेको हो।
प्रहरीकै कमजोरीका कारण अभियुक्त भाग्न सफल भएको, फिल्डमा खटिएका प्रहरीकै मिलेमतोमा बेलैमा घटनाबारे मातहत निकायलाई जानकारी नगराएको, घटनास्थल परिवर्तन गरेको लगायतका कारणले फिल्डमा खटिएका प्रहरी कर्मचारीको मिलेमतोमा उक्त घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएपछि उनलाई जिम्मेवारीबाट हटाइएको प्रहरी स्रोतले उल्लेख गरेको छ।
बिहीबार नक्कली सुन बरामद प्रकरणमा प्रयोग भएको गाडी समेत प्रहरीले ललितपुरमा फेला पारेको थियो। सो गाडी ललितपुरको नखिपोटमा भेटिएको प्रहरीले जनाएको थियो। बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी भेटिएको काठमाडौ परिसरका डिएसपी राजकुमार केसीले नेपाल लाइभलाई बताएका थिए। तर उक्त स्कोर्पियोको नम्बर प्लेट नक्कली रहेको अनुसन्धानबाट खुलेको छ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गले बरामद गरेको भनिएको १५ किलो सुनमध्ये साढे १४ किलो चाँदीमा पहेँलो लेप लगाइएको नक्कली र आधा किलोमात्रै सक्कली सुन पाइएको थियो। उक्त सुनसहित दुईवटा चाइनिज पेस्तोल प्रहरीले बरामद गरेको बताएको थियो।
यसअघि नै घटनामा संलग्न भएको आशंकामा चार पक्राउ परेका थिए। पक्राउ पर्नेमा निशेश सखिया, देवान पटेल‚ विजय पटेल र सन्दीप गुरुङ छन्। गुरुङ ट्याक्सी चालक हुन् भने बाँकी तीन जना नक्कली सुन ओसारपसार तथा बेचबिखनमा संलग्न रहेका भारतीय नागरिक रहेको प्रहरीले बताएको छ। सुन फालेर भागेपछि उनीहरू तीन जना गुरुङको ट्याक्सीमार्फत पूर्वनवलपरासी हुँदै भारत प्रवेश गर्न लागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।