काठमाडौं– वेस्ट इन्डिजविरुद्धको तीन खेलको टेस्ट क्रिकेट सिरिज इंग्ल्यान्डले जितेको छ। तेस्रो तथा अन्तिम खेलमा २६९ रनको फराकिलो अन्तरले वेस्ट इन्डिजलाई हराएसँगै इंग्ल्यान्डले सिरिज २–१ ले जितेको हो।
वर्षाको कारण प्रभावित बनेको तेस्रो खेलमा इंग्ल्यान्डले फराकिलो जित निकाल्न सफल भयो। ३९९ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले आफ्नो दोस्रो इनिङमा पनि १२९ रन मात्रै बनाउन सक्यो। जेरमान ब्लाकवोडले २३ रन बनाउन बाहेक अन्य खेलाडी सस्तैमा समेटिए। वेस्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा क्रिस ओक्सले ५ तथा स्टुआर्ट ब्रोडले चार विकेट लिए।
इंग्ल्यान्डले पहिलो इनिङमा ३६९ रन बनाएको थियो। इंग्ल्यान्डका लागि ओले पोपले ९१, जस बटलरले ६७, रोरी ब्रन्सले ५७ र स्टुआर्ट बोर्डले ६२ रन बनाएका थिए। वेस्ट इन्डिजका केमार रोचले ४ र शानोन गाब्रियल र रोस्टन चेसले समान २–२ विकेट लिए।
वेस्ट इन्डिजले पहिलो इनिङमा १९७ रन बनाउँदा सबै विकेट गुमायो। योसँगै पहिलो इनिङमा नै वेस्ट इन्डिज १७२ रनले पछि परेको थियो। दोस्रो इनिङमा इंग्ल्यान्डले २२६ रन बनाएसँगै वेस्ट इन्डिजले ३९९ रनको चुनौती पाएको थियो।
पहिलो टेस्ट वेस्ट इन्डिजले ४ विकेटले जितेको थियो। दोस्रो टेस्ट इंग्ल्याण्डले ११३ रनले जितेको थियो। इंग्ल्यान्डका स्टुआर्ट ब्रोड र वेस्ट इन्डिजका रोस्टन चेसलाई संयुक्तरुपमा प्लेयर अफ द सिरिज दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।