एक प्रयोगशालामा कोरोनाको पिसिआर परीक्षण हुँदै। फाइल तस्बििर
काठमाडौं- मंगलबार काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा गरी ५३ जना कोरोना संक्रमित भेटिएका छन्। भेटिएका संक्रमितमध्ये अधिकांश प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत सुरक्षाकर्मी रहेका छन्। मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र मंगलबार ४८ जना कोरोना संक्रमित भेटिएका छन् भने ललितपुरमा ४ र भक्तपुरमा १ जना संक्रमित भेटिएका हुन्।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबार नक्सालका २३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो। यसअघि त्यहाँ एक हवल्दारलाई संक्रमण देखिएको थियो। उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा ३ जना प्रहरीमा पोजिटिभ देखिएको थियो। ती तीन जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप २३ जनालाई संक्रमण देखिएको बताइएको छ।
त्यसबाहेक बसुन्धारा, धापासी क्षेत्रमा पनि संक्रमित देखिएका छन्। उनीहरुमध्ये धेरै जना लकडाउन हटेसँगै काठमाडौं बाहिरबाट आएका व्यक्ति रहेको बताइएको छ।
मंगलबार उपत्यकामा हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमित पुष्टि भएका छन्। मंगलबार थपिएका ३ सहित उपत्यकामा कुल संक्रमितको संख्या ४७७ पुगेको छ। भने हालसम्म काठमाडौँंमा ३३६, ललितपुरमा ९० र भक्तपुरमा ५० संक्रमित देखिएका छन्।
महाशाखाले मंगलबार थपिएका अन्यको थप विवरण संकलन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।