प्रतीकात्मक तस्बिर
काठमाडौं- प्रहरी प्रधान कार्यालयमा कार्यरत २७ जना सुरक्षाकर्मीमा काेराेना भाइरस संक्रमणकाे पुष्टि भएको छ। सामान्य ज्वरो आएका उनीहरुलाई शंका लागेर परीक्षण गराउँदा कोरोना देखिएको हो।
केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी निरजबहादुर शाहीले २७ जनामा संक्रमण देखिएको बताए। ‘गत आइतबार पहिलोपटक कार्यालयका चार जना कर्मचारीमा ज्वरो आएको थियो,’ शाहीले भने, ‘परीक्षण गर्दा कोरोना संक्रमण पाइयो।’ प्रवक्ता शाहीका अनुसार संक्रमित चारै जना मुख्यालयभित्रै बस्दै आएका थिए।
उनीहरूलाई ज्वरो देखिएपछि कोरोनाको आशंकामा प्रहरी अस्पतालमा परीक्षण गर्न पठाइएको थियो। संक्रमण पुष्टि भएका केही मेसमा काम गर्ने र केही चालक रहेको उनले बताए। ‘उहाँहरूको बाहिरी ट्रभल हिस्ट्री छैन। मुख्यालयभित्रै बसिरहेका व्यक्ति हुन्,’ शाहीले भने, ‘थाहा छैन कसरी संक्रमण भयो। ज्वरो देखिएपछि परीक्षण गर्न पठाउँदा पोजेटिभ आयो।’
पोजेटिभ देखिएपछि तत्काल उनीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। त्यसलगत्तै मुख्यालयले संक्रमितहरूको सम्पर्कमा आएकाहरूको ट्रेसिङ सुरु गर्न थालिएको थियो। त्यही क्रममा सोमबार र मंगलबार गरेर थप २३ जनामा संक्रमण पुष्टि भएको शाहीले बताए। थपिएका २३ जना संक्रमितलाई पनि सशस्त्र प्रहरीको अस्पतालमै भर्ना गरिने उनले बताए।
सरकारले उपत्यकाका तीनवटा सरकारी अस्पताललाई कोरोना डेडिकेटेट अस्पतालको रुपमा तोकेको छ। जसमा टेकु, पाटन र एपिएफ अस्पताल छन्। मुख्यालयले नयाँ थपिएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको कार्य पनि सुरु गरेको छ। प्रवक्ता शाही भन्छन्, ’उहाँहरूको परिवारको ट्रेसिङ गरेका छौं। साथै उहाँहरू को-को सँग उठबस गर्नुभयो त्यो सबै ट्रेसिङ गर्दैछौं।’
थपिएका २३ जना संक्रमितहरूमा चालक, मेसमा काम गर्ने र ’मेकानिक’ रहेको शाहीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।