काठमाडौं- आइसिसी पुरुष विश्वकप क्रिकेट सुपर लिग अन्तर्गत पहिलो सिरिजमा आयरल्यान्डविरुद्ध खेल्ने इंग्ल्यान्ड टिमको घोषणा भएको छ।
इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले आयरल्यान्डविरुद्ध एकदिवसीय सिरिज खेल्ने १४ सदस्यीय टिमको टुंगो लगाएको हो। इंग्ल्यान्ड र आयरल्यान्डबीचको सिरिज जुलाई ३० बाट सुरु हुँदैछ। दोस्रो एकदिवसीय अगस्ट १ तारिखमा खेल्ने इंग्ल्यान्डले अन्तिम खेल ४ तारिखमा खेल्नेछ।
इयोन मोर्गनको कप्तानीमा घोषणा भएको इंग्लिस टिममा मोइन अली, जोनी बैरस्टोव, टोम बेनटन, साम विलिङ्स, टो कुरान, लियाम डेवसन, जोइ डेनली, सकिब मोहम्मद, आदिल राशिद, ज्यासन रोय, रिस टोपली, जेम्स भिन्स र डेविड विली छन्।
इंग्ल्यान्डले विशेषगरी दोस्रो रोजाईका खेलाडीलाई प्राथमिकतामा राख्दै टिमको घोषणा गरेको हो। इंग्ल्यान्डको पहिलो रोजाईंका खेलाडीहरु अहिले वेष्ट इन्डिजविरुद्धको टेस्ट क्रिकेट सिरिजमा ब्यस्त छन्। वेष्ट इन्डिजपछि इंग्ल्यान्डले पाकिस्तानसँग टेस्ट सिरिज खेल्ने तालिका छ।
इंग्ल्यान्डले दोस्रो रोजार्एंको खेलाडी मैदानमा उतार्दा आयरल्यान्डका भने सबै खेलाडी पहिलो रोजाईंकै हुनेछन्। इंग्ल्यान्डविरुद्ध मौकाको फाइदा उठाउँदै सिरिज आफ्नो पोल्टामा पार्ने आयरल्यान्डको दाउ छ। जुलाई २२ बाटै इंग्ल्यान्डमा आयरल्यान्डले अभ्यास गरिरहेको छ। आयरल्यान्डका कप्तान एन्ड्यु बलब्रायनीले आफूहरु उत्कष्ट प्रदर्शन गर्ने बताए।
त्यस्तै, इंग्ल्यान्डका कप्तान मोर्गनले आयरल्यान्ड स्तरीय टिम भएको प्रतिक्रिया दिए। उनले भनेका छन्, ‘आयरल्यान्ड प्रतिभावान टिम हो। विगतका वर्षमा उत्कृष्ट प्रदर्शन गर्दै जित्दै आइरहेको छ। हामी यो सिरिजलाई रोचक बनाउने प्रयास गर्नेछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।