काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सोमबार पुरुष क्रिकेट विश्वकप सुपर लिगको मिति सार्वजनिक गर्यो। आयरल्यान्ड र इंग्ल्यान्डबीचको खेलले सुपर लिगमको उद्घाटन हुनेछ।
सुपर लिगका सिरिजहरु यहि जुलाई ३० बाट सुरु हुनेछ। सुपर लिगको पहिलो एकदिवसीय सिरिजमा प्रतिस्पर्धा गर्दै छन् घरेलु टिम इंग्ल्यान्ड र आयरल्यान्डले। जहाँ तीन खेलको सिरिज हुनेछ। पहिलो खेल जुलाई ३० प्रतिस्पर्धा गर्ने आयरल्यान्डले दोस्रो खेल इंग्ल्यान्डसँग अगस्ट १ र अन्तिम खेल ४ तारिखमा खेल्नेछ।
यो ‘सुपर लिग’ प्रतियोगिता अथवा सिरिज मात्रै नभएर २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपको ‘रुट म्याप’ हो। आइसिसीले विश्वकप खेल्नका लागि विभिन्न तहगत छनोट प्रतियोगिता यसअघि नै सार्वजनिक गरेको थियो। सुपर लिग, लिग टु र च्यालेन्ज लिग गरी तीन प्रतियोगिता छ।
सुपर लिग टेस्ट मान्यता पाएका १२ राष्ट्रसहित नेदरल्यान्ड्स रहेको छ। २०१५ देखि २०१७ सम्म आयोजना भएको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको विजेता भएको कारण नेदरल्यान्ड्सले सुपर लिगमा स्थान बनाएको हो। सुपर लिगबाट आठ राष्ट्रले सिधै विश्वकपमा स्थान बनाउने छन्। भारत आयोजक राष्ट्र भएको कारण स्वत खेल्ने हुँदा सुपर लिगबाट अब सात टिमले मात्रै विश्वकपमा स्थान बनाउने छन्। बाँकी रहेका ५ टिम भने विश्वकप छनोटमा धकेलिने छ। तर यहाँबाट पनि विश्वकप पुग्ने सम्भावना रहन्छ।
सुपर लिग यसअघि नै सुरु भइसक्नु पर्ने हो। तर कोरोना भाइरस (कोभिड-१९) को कारण केही महिना पछि धकेलिएको थियो। सुपर लिगमा प्रत्येक टिमले आठ सिरिज खेल्ने छन्। चार सिरिज होम र चार सिरिज अवेमा गरी कुल २४ खेल खेल्नेछ।
लिग टु
लिग-टु मा सात देश छन्। २०१९ को अगष्टबाट नै सुरु भएको यो लिग-टु मा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी रहेका छन्। तर कोरोना भाइरसको कारण लिग-टु को पाँच वटा सिरिज सरिसकेको छ। जहाँ नेपालले खेल्ने तीन सिरिज सरेको छ।
सरेको सिरिज कहिले गर्ने अहिले नै आइसिसी निर्णय लिने अवस्थामा छैन। विश्वभर फैलिएको कोरोनाको अवस्था हेरेर आइसिसीले रोकिएको सिरिज सञ्चालन गर्न नयाँ मिति तय गर्नेछ।
लिग-टु मा सबै टिमले ३६ वटा खेल खेल्नेछ। लिग-टु बाट शीर्ष ३ टिमले २०२३ को विश्व कप छनोटमा सिँधै स्थान बनाउने छन्। बाँकी चार टिमले पनि विश्वकप छनोटमा प्रवेश गर्न अर्को मौका पाउने छन्। जसलाई आइसिसीले प्लेअफको नाम दिएको छ। जहाँ लिग-टु बाट आएका ४ टिम र च्यालेन्ज लिगबाट आएका शीर्ष २ टिमसहित ६ टिमले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्। २०२२ मा आयोजना हुने प्लेअफबाट शीर्ष २ टिम विश्वकप छनोट खेलमा प्रवेश गर्नेछन्।
विश्वकप छनोट २०२२ मा आयोजना हुनेछ। जहाँ सुपर लिगका पुछारका ५, लिग-२ बाट आएका ३ र प्लेअफबाट आएका २ राष्ट्र गरी १० टिमले विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै च्यालेन्ज लिगमा आइसिसी वरियतामा २१ देखि ३२ औँ स्थानसम्म रहेका देशले प्रतिस्पर्धा गर्नेछन्।
विश्वकप छनोटबाट विजेता र उपविजेता बन्ने टिमले मात्रै भारतमा सन् २०२३ मा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन्। विश्वकपमा १० टिमको सहभागिता रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।