काठमाडौं– स्वभाविक छ, नाम र दाम दुवै जुराइदिएको फिल्मको ‘सिक्वेल’प्रति निर्माता आकर्षित हुन्छन्। डेढ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’को हकमा पनि यस्तै भयो। अहिले ‘प्रसाद’ नयाँ भागका लागि लेखक सुशिल पौडेलले पटकथामा काम गरिरहेका छन्।
अन्तरजातीय विवाह र उनीहरुको जीवनमा देखा पर्ने आरोह–अवरोहलाई मूल विषय बनाएको प्रसादको नयाँ भागका लागि रमाइलो के भएछ भने, पहिलो फिल्म निर्देशन गरेका यसका निर्देशक दोस्रो फिल्ममा नदोहोरिने भएछन्।
प्रसादलाई दिनेश राउतले निर्देशन गरेका थिए। तर सिक्वेललमा भने निर्देशक सौरभ चौधरी कमाण्ड सम्हाल्ने छन्। ‘लभ डायरीज’ निर्देशन गरेका चौधरीका लागि अघिल्ला निर्देशकको स्तर कायम राख्न चुनौती हुनेछ। सुवास थापाले निर्माण गर्ने फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत नै दोहोरिन सक्ने सम्भावना प्रवल छ।
पहिलो फिल्ममा प्रमुख भूमिकामा रहेका अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठको अभिनयको निकै प्रशंसा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।