काठमाडौं- क्यारेवियन प्रिमियर लिग (सिपिएल) टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। आयोजकले सार्वजनिक गरेको तालिका अनुसार सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म आयोजना हुँदैछ। तालिका अनुसार पहिलो दिन दुई खेल हुनेछन्।
उद्घाटन खेलमा ट्रिनबागो नाइट राइडर्स र गुयना अमेजन वारियर्सबीचमा प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो खेलमा बार्बेडोस् ट्रिडेन्ट्सले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा जमैका तलावाजसँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुयना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स गरी ६ टिम छन्। सिपिएलको फाइनल १० सेप्टेम्बरमा ब्रायन लारा क्रिकेट एकेडेमीमा हुनेछ।
सिपिएल वेष्ट इन्डिजको मुख्य दुई मैदानमा मात्रै प्रतियोगिता हुनेछ। ब्रायन लारा क्रिकेट एकेडेमी र क्वीन्स पार्क ओभलमा गरी यो पटक दुई स्थानमा प्रतियोगिता हुनेछ। कोरोना भाइरसको कारण दुई स्थानमा मात्रै सिपिएल आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
नेपालका सन्दीप लामिछानेले तेस्रो पटक सिपिएल खेल्दै छन्। उनी जमैका तलावाजले झण्डै एक करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्धित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।