काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज ११ बजेका लागि तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालय बैठकको निर्णयबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले आजको बैठक स्थगित गरिएको जनाएका छन्। बैठकको अर्को मिति भने तय गरिएको छैन।
पार्टी विवाद समाधानका लागि दुई अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अहिले बालुवाटारमा वार्ता जारी छ। त्यसअघि आज दुवै अध्यक्षले आफूनिकट सचिवालय र स्थायी कमिटी सदस्यसँग छलफल गरेका थिए।
पार्टीमा चर्किएको विवाद समाधानका लागि दुई अध्यक्षबीच ‘वान टु वान’ र सामूहिक रुपमा पटक–पटक वार्ता भए पनि सहमतिको विन्दू निस्कन सकेको छैन।
गत असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि विवाद चर्किएको हो। सहमति खोज्नैका लागि स्थायी कमिटी बैठक पनि पटक–पटक सारिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।