काठमाडौं-तेस्रो टेष्ट क्रिकेट खेलमा घरेलु टोली इंग्ल्यान्डविरुद्ध ३३९ रनको लक्ष्य पछ्याउँदै आफ्नो दोस्रो पारी थालेको वेष्ट इन्डिजले सुरुवातमै महत्वपूर्ण दुई विकेट गुमाएको छ।
पहिलो पारीमै वेस्ट इन्डिज १ सय ७२ रनले पछि परेसँगै इंग्ल्यान्डले आफ्नो दोस्रो पारी थालेको थियो। आफ्नो दोस्रो पारीमा इंग्ल्यान्डले दुई विकेटको क्षतिमा २२६ रन बनाएपछि इनिङ समाप्तिको घोषणा गरेको थियो। योसँगै वेष्ट इन्डिजले ३९९ रनको लक्ष्य पायो।
दोस्रो पारीमा इंग्ल्यान्डका लागि रोरी ब्रन्सले ९०, कप्तान जोइ रुटले ६८ र डोम सिब्लीले ५६ रन बनाए। यसअघि इंग्ल्यान्डले पहिलो पारीमा ३६९ रन बनाएको थियो। इंग्ल्याान्डका लागि ओले पोपले ९१, जस बटलरले ६७, स्टुआर्ट ब्रोडले ६२ र रोरी ब्रन्सले ५७ रन बनाएका थिए। वेस्ट इन्डिजका केमार रोचले ४, शानोन गाब्रियल र रोस्टन चेसले २–२ लिए।
आफ्नो पहिलो पारीमा १९७ रन मै अलआउट भएको वेस्ट इन्डिज दोस्रो पारीमा पनि उहि हालतमा छ। सुरुवातमै वेस्ट इन्डिजले जोन क्याम्पबेल र केमार रोचलाई गुमाएको छ। क्याम्पबेल शुन्य रनमा आउट हुँदा केमारले चार रन मात्रै जोड्न सफल भए।
तेस्रो दिनको समाप्तीसँगै वेष्ट इन्डिजको १० रन हुँदा दुई विकेट गुमेको छ। यहि स्थिति रहने हो भने तेस्रो टेष्ट इंग्ल्यान्डको पोल्टामा जानेछ। यसअघि भएको पहिलो टेष्ट खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई चार विकेटले पराजित गरेको थियो। तर दोस्रो टेष्टमा भने इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ११३ रनले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।