काठमाडौं-सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारका ऐतिहासिक कामहरुको नतिजा जनताले महसुस गर्ने गरी देखिने बेला भएको बताएका छन्। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन, भैँसेपाटीस्थित मन्त्री निवास र मुख्यमन्त्री तथा प्रदेश प्रमुखहरुको निवास तथा सम्पर्क कार्यालय तथा गोदावरीस्थित तीन हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अवलोकनपश्चात् उनले केही समयपछि परिणाम देखिने बताएका हुन्।
मन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सुखी नेपाली समृद्ध नेपालको मर्मअनुसार काम भइरहेको बताउँदै सरकारले ऐतिहासिक काम गरिरहेको दाबी गरे। उनले वर्तमान सरकारकै पालामा नेपालमा इतिहासकै सबैभन्दा ठूलो संसद भवन बन्न लागेको बताउँदै समयमै काम सकिने दाबी गरे। आगामी वर्ष नेपालको इतिहासमा सबैभन्दा बढी विकासको वर्ष हुने उनकाे दाबी छ।
देशको मौलिक कला, संस्कृति र सभ्यतालाई जोडेर भवनहरुको डिजाइन भएको बताउँदै उनले यी संरचना निर्माणपश्चात् अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको प्रशंसा हुने बताए।
उनले संघीय संसद भवन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा मन्त्री र मुख्यमन्त्री निवास निर्माणको कामलाई तीव्रता दिन पनि निर्देशन दिएका छन्।
कोरोनाका कारण काममा केही अवरोध देखिएको बताउँदै मन्त्री मानन्धरले अब काम निरन्तर हुने बताए।
यसअघिका सरकारले ढिलासुस्ति र अपारदर्शी ढंगले काम गर्दा जनता निराश भएको बताउँदै उनले वर्तमान सरकार जनताको आशाको प्रतिक भएको पनि उल्लेख गरे।
अनुगमनका क्रममा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले सहरी विकास मन्त्रालयले निर्माण थालेका ठूला भवनहरु समयमै सकिने बताए। सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले संघीय संसद भवनको बेस निर्माणको काम अन्तिम चरणमा रहेको बताउँदै उत्कृष्ट इन्जिनियरिङसहित निर्माण हुने बताए।
६ महिनामा ६१ प्रतिशत प्रगती
गोदावरीमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण ६१ प्रतिशत सकिएको पाइएको छ। ६ महिना अवधिमा ६१ प्रतिशत काम सकिएको बताउँदै मन्त्री मानन्धरले अब बाँकी कामलाई तीव्रता दिइने बताए। ४३ रोपनी क्षेत्रफलमा ३ हजार सिट क्षमताको सम्मेलन केन्द्र ५८ करोड लागतमा निर्माण भइरहेको छ। उक्त केन्द्र निर्माणपश्चात् राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलनका लागि ठूला होटलहरुमा लाखौं खर्च गर्नुपर्ने बाध्यता हट्नेछ।
संसद भवन निर्माण ७ प्रतिशत
सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संसद भवनको भौतिक प्रगति ७ प्रतिशत रहेको छ। साइट क्लियरेन्सका लागि समय लागेकाले केही ढिलाइ भएको महानिर्देशक गेलालाले जानकारी दिए। १७३ रोपनी क्षेत्रफलमा निर्माणाधीन संसद भवन निर्माणको लागत ६ अर्ब ९२ करोड रहेको छ। गत वर्ष असोज १६ मा सम्झौता भएको उक्त भवन निर्माण अवधि तीन वर्षको छ।
ललितपुरको सैबु भैँसेपाटीमा निर्माणाधीन मन्त्री निवास तथा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवासको काम २२ प्रतिशत सकिएको छ। मन्त्री निवास ९६ रोपनीमा र प्रदेश प्रमुख तथा मुख्यमन्त्री निवास २८ रोपनीमा निर्माण हुँदैछ। ती भवनहरुको निर्माणमा पनि तीव्रता दिन मन्त्री मानन्धरले निर्देशन दिए।
पारदर्शी ढंगले काम सम्पन्न हुनुपर्ने बताउँदै मन्त्री मानन्धरले सरकारको योजनाअनुसार काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे। फिल्डमा समस्या भए तत्काल सरोकारवाला निकायमार्फत् खबर गर्न आग्रह गर्दै उनले समस्या समाधानका लागि सधैं तयार रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।