काठमाडौं-श्रीलंकन क्रिकेटर श्रीपाली विराकोडीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी छिन्।
३४ वर्षीया श्रीपालीले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटबाट आफूले सन्यास लिएको बताएकी हुन्। बलिङ अलराउण्डर उनले राष्ट्रिय टिमका लागि सन् २००६ मा डेब्यु गरेकी थिइन्। सन् २०१८ पछि भने उनी श्रीलंकन राष्ट्रिय टिम बाहिर रहँदै आएकी थिइन्। २०१८ मा भारतविरुद्धको ५० ओभरको खेल नै उनको एकदिवसीय अन्तर्राष्ट्रिय फम्र्याटमा अन्तिम खेल बन्यो। टि–२० मा भने उनले नोभेम्बर २०१८ मा बंगलादेशविरुद्ध अन्तिम खेल खेलेकी थिइन्।
आफ्नो लागि यो सन्यास घोषणा गर्ने उपयुक्त समय भएको श्रीपालीले बताएकी छिन्। उनले भनेकी छिन्, ‘मलाई लाग्छ कि यो नै मेरो लागि उपयुक्त समय हो र यो मेरो व्यक्तिगत निर्णय पनि हो।’
८९ एकदिवसीय क्रिकेट खेलमा उनले ७२२ रन बनाएकी छिन् भने बलिङतर्फ ५८ विकेट लिएकी छिन्। त्यस्तै, टि–२० क्रिकेटमा उनले ५८ खेलबाट २०९ रन बनाउँदा ३१ विकेट लिएकी छिन्।
श्रपालीले २००९, २०१३ र २०१७ गरी तीन वटा एकदिवसीय विश्वकप क्रिकेट खेलिन्। त्यस्तै, २००९, २०१०, २०१२, २०१४ र २०१८ गरी उनले श्रीलंकाका लागि पाँच वटा टि–२० विश्वकप खेलेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।