काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गतेदेखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ।
विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटासम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताए। उनले विमानस्थलमा डिपार्चर र एराइभलका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सिमित उडानबाट विमानस्थललाई सूचारु गरिने जानकारी दिए।
सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान सुचारु गर्ने निर्णय गरेको छ। तर विमानस्थलले भदौ १ पछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन। तरपनि संक्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटाभन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताए। त्यस्तै आन्तरिक उडानतर्फ दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सम्भव हुने उनले बताए।
अन्तर्राष्ट्रिय यात्रुका लागि विमान उडान हुने समयभन्दा कम्तिमा चार घण्टाअघि विमानस्थल प्रस्थान हुनुपर्ने व्यवस्था गरिने उनले उल्लेख गरे। सामान्य अवस्थामा आफ्नो उडान समयभन्दा तीन घण्टाअघि विमानस्थल पुग्नुपर्ने व्यवस्था रहेको थियो। विमानस्थल प्रमुख केसीले स्वास्थ्य सुरक्षा अपनाउनका लागि साधन स्रोत बढाउनुपर्ने बताए।
उनले विमानस्थलसँग जनशक्ति पर्याप्त भएको तर संक्रमणको जोखिम कम गर्नका लागि साधन स्रोत थप्नुपर्ने बताए। त्यसका लागि विमानस्थलले काम गरिरहेको उनले बताए। उनले देशभित्र रहेका अन्य आन्तरिक विमानस्थलहरु पनि उडानका लागि तयारी अवस्थामा रहेको जानकारी दिए। उनले देशभित्रका सबै विमानस्थलमा न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काम गरिने स्पष्ट पारे।
कोरोना संक्रमणका हिसाबले विमानस्थल अत्यन्त संवेदनशील ठाउँ भएकाले स्वास्थ्य सुरक्षाका प्रोटोकलहरुलाई पूर्णरुपमा पालना गर्न र गराउन विमानस्थल सक्षम रहेको उनले बताए। यस्तै यात्रुहरुलाई विमानस्थलमा आउँदा सतर्क रहन समेत केसीले आग्रह गरेका छन्। विमानस्थलमा कुनैपनि व्यक्तिलाई समस्या भए त्यसको व्यवस्थापन गर्न विमानस्थल सक्षम रहेको पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।