पोखरा- कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यका साथ झण्डै चार महिनादेखि जारी लकडाउनका कारण रोकिएका सार्वजनिक यातायातका साधन पोखरामा बिहीबारदेखि सञ्चालन गरिने भएको छ।
सार्वजनिक सवारी सञ्चालन गर्दै आएको पोखराको सबैभन्दा ठूलो कम्पनी पोखरा यातायात प्रालिले ५० प्रतिशत सार्वजनिक सवारी साधन चलाउने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक अमृत शर्माले जानकारी दिए। उनका अनुसार पोखरामा कम्पनीमा आबद्ध ३६० सवारी साधन सञ्चालन हुँदै आएका छन्।
सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भने पनि त्यसका लागि कार्यविधि अझै आइनसकेको बताउँदै शर्माले सो विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारीसँग थप छलफल गरिने जानकारी दिए। आधारभूत सुरक्षा सतर्कता अपनाएर सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ। पोखरामा विभिन्न यातायात कम्पनीका करीब ८ सय बस तथा २ हजार ५ सय ट्याक्सी सञ्चालन हुँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।