काठमाडौं– पाकिस्तानका तीव्रगतिका बलर मोहम्मद अमिर इंग्ल्यान्डविरुद्धको टेष्ट सिरिजको लागि टिममा फर्किने भएका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले अमिर इंग्ल्यान्डविरुद्धको सिरिजमा टिममा फर्किने भएको उल्लेख गरेको छ।
केही दिनअघि टिमको घोषणा गर्दा उनी टिममा परेका थिएनन्। अमिरकी पत्नी नार्जिस खातुनको डेलिभरी समय भएको कारण उनी टिम बाहिर रहेका थिए। तर, चार दिनअघि अमिरकी पत्नी खातुनले दोस्रो सन्तानको रुपमा छोरी जन्माएसँगै उनी फेरि टिममा फर्किने भएका हुन्।
टिममा फर्किने भएसँगै उनको सोमबार नै कोरोना परीक्षण पनि गरिसकिएको छ।
अमिरले हरिस राउफको स्थानमा टिममा प्रवेश गर्न लागेका हुन्। हरिसलाई ६ पटकसम्म कोरोना परीक्षण गर्दा पाँच पटकसम्म रिपोर्ट पोजेटिभ आएको छ।
पाकिस्तानका मुख्य प्रशिक्षक मिसबाह उल हक भन्छन्, ‘हरिसको लागि यो दुर्भाग्यपूर्ण हो। उनी हामीसँग छन् र हामी उनी ठीक होस् भन्दै प्राथना गरिरहेका छौं। तर दुर्भाग्य नै भन्नु पर्छ उनको लगातारको परीक्षणमा कोरोना देखिई रहेको छ।’
पाकिस्तानी क्रिकेट टिम अहिले डर्बीमा अभ्यास गरिरहेको छ। इंग्ल्यान्डसँगको पहिलो टेष्ट खेल खेल्न पाकिस्तानी टिम अगष्ट १ तारिखमा म्यान्चेस्टर जाँदैछ। तीन खेलको टेष्ट सिरिज अगष्ट ५ तारिखदेखि सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।