काठमाडौं-इंग्ल्यान्डका उकप्तान बेन स्टोक्स टेस्ट क्रिकेटको अलराउण्डरमा नम्बर एक खेलाडी बनेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टेस्ट वरियतामा उनी नम्बर एक खेलाडी बन्न सफल भएका हुन्। इंग्ल्यान्डका स्टार खेलाडी स्टोकको यो अहिलेसम्मकै सफलता हो। यसअघि उनी टेस्ट क्रिकेटको अलराउण्डर वरियतामा तेस्रो स्थानसम्म आएका थिए।
स्टोक्सले यसअघि शीर्ष स्थानमा रहेका वेष्ट इन्डिजका कप्तान जासन होल्डरलाई पछाडि पार्दै शीर्ष स्थानमा उक्लिन सफल भएका हुन्। वेष्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण स्टोक्स नम्बर एक खेलाडी बन्न सफल भएका हुन्। उनले दोस्रो टेस्टको पहिलो पारीमा शतकसहित १७६ रनको उच्च स्कोर बनाएका थिए। त्यस्तै, दोस्रो पारीमा उनले अविजित ७८ रन बनाएका थिए। बलिङतर्फ भने उनले दोस्रो टेस्टमा तीन विकेट लिए। दोस्रो टेस्टमा वेष्ट इन्डिजविरुद्ध इंग्ल्यान्डलाई ११३ रनको जित दिलाउन उनकै मुख्य भूमिका थियो।
यसअघि वेष्ट इन्डिजविरुद्ध बेन स्टोक्सकै कप्तानीमा इंग्ल्यान्डले पहिलो टेस्ट खेल खेलेको थियो। नियमित कप्तान जोइ रुट पारिवारिक कारण खेल्न नसकेको पहिलो खेलमा इंग्ल्यान्ड चार विकेटले पराजित भए पनि बेन स्टोक्सको प्रदर्शन भने उच्च थियो।
उनले पहिलो टेस्टको पहिलो पारीमा इंग्ल्यान्डका लागि सर्वाधिक ४३ रन बनाएका थिए। त्यस्तै, दोस्रो पारीमा ४६ रन जोडे। बलिङतर्फ स्टोक्सले पहिलो पारीमा ४ विकेट र दोस्रो पारीमा २ गरी पहिलो टेष्ट खेलमा मात्रै ६ विकेट लिए।
अलराउण्डरको दोस्रो स्थानमा जासन होल्डर रहँदा तेस्रो स्थानमा भने भारतका रविन्द्र जडेजा छन्। ब्याटिङतर्फ पनि बेन स्टोक्स टेष्ट क्रिकेटको तेस्रो स्थानमा छ। शीर्ष स्थानमा अस्ट्रेलियाका स्टेभ स्मिथ रहँदा दोस्रो स्थानमा भारतका कप्तान विराट कोहली छन्। बलिङतर्फको बरियतामा भने शीर्ष स्थानमा अस्ट्रेलियाका पट कुम्मिन्स रहँदा स्टोक्स २३औं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।