काठमाडौं- नेपाल क्रिकेट संघले हेड कोच, महाप्रबन्धक तथा वित्त प्रबन्धकसहित क्रिकेट व्यवस्थापकको पदपूर्ति गर्न आइसिसीसँग समन्वय गर्ने भएको छ। संघको सोमबार सम्पन्न कार्यसम्पादन कमिटीको बैठक उल्लेखित पदमा पदपूर्ति गर्न एक साताभित्रै आइसिसीसँग समन्वय गरी सूचना प्रकाशन गर्ने निर्णय गरेको हो। यस्तै संघले वार्षिक साधारणसभा भदौ १५ गतेभित्र सम्पन्न गर्ने समेत निर्णय गरेको छ।
यस्तै, प्रादेशिक क्रिकेट संघ मातहत रहनेगरी ७ जना प्रशिक्षक समेत पदपूर्ति गरिने क्यानले जानएको छ। काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदानमा खटिने गरी ६ जना मैदान कर्मचारी थप गर्ने प्रक्रियासमेत अघि बढाइएको क्यानले जनाएको छ।
पोखरा, भैरहवा र वीरगञ्ज मा एक एक जना क्रिकेट पिच क्युरेटर नियुक्त गर्ने निर्णय गरेको क्यानले राष्ट्रिय पुरुष क्रिकेट टिमको पूर्णकालीन फिजियोको रुपमा विक्रम न्यौपानेलाई नियुक्त गरेको समेत जानकारी गराएको छ। टिमसँग सम्बन्धित बिषयहरुको समन्वय र व्यवस्थापनको जिम्मेवारीसमेत तत्कालका लागि उनैलाई दिइएको बताइएको छ।
संघको केन्द्रीय सदस्य जयन्ती भट्टको संयोजकत्वमा 'महिला क्रिकेट विकास समिति' गठन गर्ने निर्णयसमेत गरेको क्यानले उल्लेख गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।