काठमाडौं- इंग्ल्याण्डसँगको दोस्रो टेस्टमा वेस्ट इन्डिजले ३ सय १२ रनको लक्ष्य पाएको छ। इंग्ल्याण्डले आफ्नो दोस्रो इनिङमा १९ ओभर ब्याटिङ गर्दै ३ विकेट गुमाएर १ सय २९ रन बनाउँदा इनिङ सकिएको घोषणा गरेको हो।
इंग्ल्याण्डले आफ्नो पहिलो इनिङमा ४ सय ६९ रन बनाएको थियो भने वेस्ट इन्डिजले पहिलो इनिङमा २ सय ८७ रन बनाएको थियो।
दोस्रो इनिङमा इंग्ल्याण्डले चौथो दिनको खेल सकिँदा आठ ओभर ब्याटिङ गरेर ३७ रन बनाएको थियो। अन्तिम दिन नवौं ओभरबाट खेल सुरु गरेको इंग्ल्याण्डले १ सय २९ रन बनाएको हो। जसमा बेन स्टोक्सले ५७ बलमा अविजित ७८ रन बनाए। ओले पोपले ७ बलमा १२ रन बनाए। इंग्ल्याण्डले अन्तिम दिन बिहान ११ ओभरमा नै ९२ रन बनाएको हो।
त्यसअघि जस बटलर ३ बल खेलेर रन नबनाइ आउट भएका थिए। ज्याक क्रलेले १५ बलमा ११ रन साथै जोय रुटले ३३ बलमा २२ रन बनाएका थिए। वेस्ट इन्डिजका केमारोचले दु्ई विकेट लिए।

यसअघि आफ्नो पहिलो इनिङमा इंग्ल्याण्डका डम सिब्ले र बेन स्ट्रोक्सले शतक बनाएका थिए। सिब्लेले ३ सय ७२ बल खेलेर १ सय २० रन बनाएका थिए भने स्ट्रोक्सले ३ सय ५६ बल खेलेर १ सय ७६ रन बनाएका थिए। स्टोक्स र सिब्लेले २ सय ६० रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई उकासेका थिए।
वेस्ट इन्डिजले दोस्रो इनिङ सुरु गरेर १ विकेट गुमाइसकेको छ। अन्तिम दिन ८४ ओभरको खेल बाँकी रहँदा जितका लागि वेस्ट इन्डिजले ३ सय १२ रनको लक्ष्य पूरा गर्नुपर्नेछ भने इंग्ल्याण्डका लागि नौ विकेट लिनुपर्नेछ।
पहिलो टेस्ट वेस्ट इन्डिजले ४ विकेटले जितेको थियो। तेस्रो तथा अन्तिम टेस्ट जुलाइ २४ देखि २८ सम्म हुने तय छ। यही सिरिजले क्रिकेटका अरु गतिविधि कसरी हुन्छन् भन्नेमा सहयोग गर्ने भएकाले पनि विशेष रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।