काठमाडौं- विगत २४ घण्टायता नेपालमा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ८४४ जना पुगेको छ।
सोमबार थप १७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ११ हजार ८ सय ६८ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६६ दशमलव ५१ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
विगत २४ घण्टायता देशका २७ प्रयोगशालामा ४ हजार २ सय १६ जनाको पिसिआर परीक्षण भएको छ। हाल आइसोलेसनमा २२ हजार २ सय २८ जना छन् भने ५ हजार ९ सय ३६ जना कोरोना संक्रमित उपचाररत छन्।
हालसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।