काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय कमिटी बैठक समापन भएको छ। पार्टीभित्र रहेका तीव्र विवादका बीच शनिबार दिउँसो ३:१० बजेबाट बैठक सुरु भएको बैठकमा पार्टीको पछिल्लो विवादबारे छलफल भएको बताइएको छ।
यद्यपि, पार्टी सचिवालय बैठकले गरेका आधिकारिक निर्णय भने सार्वजनिक गरिएको छैन।
पार्टीको आन्तरिक विवादका कारण केही दिनदेखि पार्टी स्थायी कमिटी बैठक स्थगित भइरहेको अवस्थामा सचिवालय बैठक बसेको थियो। पछिल्लो पटक शुक्रबारका लागि तोकिएको स्थायी कमिटी बैठक हुन नसकेको अवस्थामा सचिवालय कमिटी बैठक बसेको हो।
सचिवालय कमिटी बैठक जारी रहेकै बेला स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसमेत बालुवाटार प्रवेश गरेका थिए। शनिबार साँझ पौने ६ बजेतिर मुख्यमन्त्री पोखरेल बालुवाटार छिरेका थिए भने ६ बजेतिर स्वास्थ्यमन्त्री र महिलामन्त्री बालुवाटार प्रवेश गरे।
जारी सचिवालय कमिटी बैठकमा पहिलो चरणमा सचिवालयका ९ जना नेताहरूबीच छलफल भएपछि ढकाल, गुरुङका साथै पोखरेल पनि पुगेका थिए। तर उनीहरुलाई बालुवाटार बोलाइएको थियो भन्ने खुल्न सकेको छैन। दिउँसो करिब सवा ३ बजेदेखि नेकपा सचिवालय कमिटी बैठक करिब सवा ७ बजेसम्म चलेको थियो।
शनिबारको सचिवालय कमिटी बैठकमा पार्टीमा लामो समयदेखि चल्दै आएको विवादका विषयमा छलफल भएको भनिएपनि निर्णयबारे औपचारिक जानकारी आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।