काठमाडौं– इंग्ल्यान्डले वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट क्रिकेट खेलको आफ्नो पहिलो पारीमा उच्च रन बनाएको छ। पहिलो दिन इंग्ल्यान्डले आफ्नो पहिलो पारीमा ९ विकेटको क्षतिमा ४६९ रन बनाएपछि पारी सकाएको थियो।
इंग्ल्यान्डका लागि उपकप्तान बेन स्टोक्स र डोम सिब्लीले शतक बनाए। यी दुबै ब्याट्सम्यानको उच्च रनसँगै इंग्ल्यान्ड आफ्नो पहिलो पारीमै बलियो स्थितिमा पुगेको हो।
स्टोक्सले शतकसहित १७६ रन बनाए। उनले १७ चौका र २ छक्का प्रहार गरे। त्यस्तै सिब्लीले शतकसहित १२० रन बनाए। स्टोक्स र सिब्लीले २६० रनको विशाल साझेदारी गर्दै इंग्ल्यान्डलाई उकासेका थिए।
यी दुई खेलाडी बाहेक जोस बुटलरले ४० रन बनाउँदा डोम बेस भने ३१ रनमा अविजित रहे। पारिवारिक कारण पहिलो टेष्ट खेल गुमाएका कप्तान जोइ रुट भने २३ रनमा आउट भए।
तीन खेलको टेष्ट क्रिकेट सिरिजको पहिलो खेल भने वेष्ट इन्डिजले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।