रुपन्देही–सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयको टोलीले गत असार ३० गते स्रोत नखुलेको करिब १ करोड रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ। उनीहरु रुपन्देहीको सिद्धार्थनगर ६ बाट पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा सिद्धार्थनगर नगरपालिका २ बस्ने ३८ वर्षीय सुनील सुनार र ३७ वर्षीय अमित परियार छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल नम्बर ४३ गुल्म रुपन्देहीबाट खटिएको टोली र राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो।
सुनारले चलाएको प्रदेश नं ३, ०३–०१–०२३–च ३२०९ नम्बरको कारमा ७३ लाख ५५ हजार रुपैया फेला परेकोमा उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो। त्यसपछि सुनारको घरबाट स्रोत नखुलेको १२ लाख ६६ हजार रुपैयाँ तथा उनको पसल सोनु ज्वेलर्स गल्लामण्डीबाट समेत स्रोत नखुलेको १२ लाख ८१ हजार ५ सय रुपैयाँ बरामद गरिएको थियाे। सुनील सुनारलाई गाडीबाट र अमित परियारलाई पसलबाट पक्राउ गरिएको हो। परियार उक्त पसलको कामदार रहेको बताइएको छ।
पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा लगिएकोमा त्यहाँबाट ईलाका प्रहरी कार्यालय बुटवलमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।