काठमाडौं- गतवर्षको तुलनामा यसवर्ष असार मसान्तसम्मको धान रोपाईं दोब्बर देखिएको छ। यसवर्ष मनुसन चाँडै शुरु भएका कारण रोपाई पनि समयमै भएको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बुधबारसम्ममा देशभर ८१ दशमलव ५८ प्रतिशत धान रोपाईं सकिएको छ। गतवर्ष असार मसान्तसम्ममा ४० दशमलव ४९ प्रतिशत धान रोपाईं सकिएको थियो।
मन्त्रालयका अनुसार देशभर धान रोपाईं हुने १३ लाख ७१ हजार ७ सय हेक्टर क्षेत्रफल जमिनमध्ये असार ३१ गतेसम्ममा ११ लाख १९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाईं सकिएको छ।
उच्च पहाडी जिल्लामा ७४ दशमलव ७६ प्रतिशत, मध्यपहाडी जिल्लामा ७५ दशमलव १२ प्रतिशत र तराईका जिल्लामा ८४ दशमलव २१ प्रतिशत रोपाईं सकिएको छ।
प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै ९१ दशमलव ८६ प्रतिशत रोपाईं सकिएको छ। त्यस्तै कर्णाली प्रदेशमा ८६ दशमलव ८४, प्रदेश नम्बर ५ मा ८६ दशमलव ६०, गण्डकी प्रदेशमा ८३ दशमलव ६९, प्रदेश नम्बर २ मा ८३ दशमलव ४१ र प्रदेश नम्बर ३ मा ७२ दशमलव १० प्रतिशत रोपाईं सकिएको छ। मन्त्रालयका अनुसार सबैभन्दा कम प्रदेश नम्बर १ मा हालसम्म ६९ दशमलव ९१ प्रतिशत धान रोपाईं सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।