काठमाडौं- सरकारले लकडाउन अवधिमा खरिद सम्झौता भएका र सोही अवधिमा निर्धारित निर्माणको म्याद सकिएका आयोजनाहरुको म्याद ६ महिनासम्म थप गर्ने निर्णय गरेको छ। गएको सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
लकडाउनको अवधिमा म्याद सकिएका र नियमित काम भइरहेका आयोजनाहरूलाई बढीमा ६ महिना थप समय दिने निर्णय भएको र सोको जानकारी आएको नेपाल निर्माण व्यवसायी महासंघले विज्ञप्तिमार्फत जनाएको छ।
महासंघका अनुसार सरकारलाई थप आर्थिक दायित्व सिर्जना नहुनेगरी सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक र परामर्शदाताको सिफारिसका आधारमा खरिद सम्झौता गर्ने अधिकारीले म्याद थपको निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ। सो निर्णय भएसँगै लकडाउनका कारण अन्तिम समयमा काम हुन नसकेर अलपत्र भएका आयोजनाका ठेकेदारले राहत पाउनेछन्।
सरकारले चैत ११ मा लकडाउन गरेपनि ठूला आयोजनालाई लकडाउनको केही समयपछि नै स्वास्थ्य सतर्कता अपनाएर काम गर्ने सक्ने व्यवस्था गरेको थियो। तर कामदार तथा निर्माण सामग्रीको अभावलगायतका कारण काम भने साविक अवस्थामा हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।