काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीको व्यवस्थापनको नेतृत्व सम्हाल्न नसकेको कांग्रेसले आरोप लगाएको छ। केन्द्रीय सरकारले लहड र व्यक्तिगत स्वार्थमा स्थानीय र प्रदेश तहमा कार्यरत कर्मचारीको छिटोछिटो सरुवाले गर्ने गरेको कांग्रेसको अनुगमन समितिले जनाएको छ।
क्वारेन्टाइनहरू मापदण्डअनुरुप संचालन गर्न आवश्यक बजेट केन्द्रीय सरकारले उपलब्ध नगरिएको कांग्रेसले जनाएको छ। संक्रमणको चापअनुसार बजेट विनियोजन नभएको जनाइएको छ। स्थानीय तहलाई क्षमताभन्दा बढी हुनेगरी क्वारेन्टाइन केन्द्रको बोझ थपिएको जनाइएको छ।
क्वारेन्टाइन केन्द्रहरु मापदण्डअनुरुप नभएको औंल्याइएको छ। संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा परिक्षणको दायरा घटाउन लागेको कांग्रेसले जनाएको छ। पिसिआर परीक्षण घट्दै जानु चिन्ताको विषय भएको अनुगमन समितिले औंल्याएको छ।
कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका कार्यको अनुगमन गर्न कांग्रेसले सह महामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा एक समिति गठन गरेको थियो। उक्त समितिले क्वारेन्टाइन केन्द्रहरू मापदण्डअनुरुपको सञ्चालन गर्न नसकिए संक्रमण समुदायमा अझ फैलन सक्नेप्रति ध्यानाकर्षण गराएको छ। समुदायमा संक्रमण विस्तार हुँदा ज्येष्ठ नागरिकको मृत्युदर पनि बढ्नेतर्फ सचेत बनाइएको छ।
सरकारले समुदायमा समेत परिक्षणको दायरा बढाउनुपर्नेमा क्वारेन्टाइनमा रहेकाहरुलाई मात्रै परीक्षण सिमित गरिएकोप्रति चिन्ता व्यक्त गरिएको छ।
कोभिड संक्रमणको समयमा बढ्दो आत्महत्या, मातृ मृत्युदर, घरेलु हिंसा लगायत अन्य स्वास्थ्य समस्याको सम्बोधन गर्न सरकार चुकेको कांग्रेसले उल्लेख गरेको छ।
बेरोजगारी, उद्योग, व्यापार, यातायात, पर्यटन, कृषि व्यवसाय, शिक्षा तथा अन्य क्षेत्रमा देखिएको संकट समाधान गर्नतर्फ गम्भीरता सरकारमा नदेखिएको जनाइएको छ। केन्द्रीय सरकारले ल्याएको बजेटले लकडाउनका कारण उत्पन्न समस्यालाई समाधान गर्न केन्द्रित नभएकाले यातायात, निर्माण, पर्यटन, कृषिलगायत उत्पादन र सेवासँग जोडिएका व्यवसायहरु पनि संकटमा परेका उल्लेख गरिएको छ।
विदेशबाट बेरोजगार भई फर्केका, स्वदेशमै बेरोजगार भएका नागरिकको आर्थिक जीवन संकटमा परेकोतर्फ सरकार गम्भीर नभएको कांग्रेसले आरोप लगाएको छ।
यातायात क्षेत्रमा सरकारले सार्वजनिक यातायात खोल्ने निर्देशन दिएपनि सुरक्षित यातायात सञ्चालन गर्न सुरक्षित विधि अवलम्बन नगरिएको उल्लेख गरिएको छ। विद्यालय सञ्चालन गर्ने तयारी भएपनि यथोचित प्रबन्ध नभएको कांग्रेसले जनाएको छ।
विपदमा परेकालाई स्वदेश फर्काउने क्रममा चार्टर्ड उडानको नाममा महँगो हवाई भाडा लिएको कांग्रेसको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।