काठमाडौं- लकडाउन खुकुलो भएको भन्दै बैंकर एसोसिएसनले अन्य बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था खारेज गरेको छ। नेपाल सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेसँगै बैंकहरुले अर्को बैंकको एटिएमबाट पैसा झिक्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए।
बैंकहरुले चैत ७ गतेदेखि विद्युतीय कारोबारहरु निःशुल्क प्रदान गर्दै आएका थिए। जसमा नगद झिक्नका लागि अन्तर बैंक एटिएम कार्ड प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था भएको तथा नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आइपिएस एनसिएचएल आइपिएस एनसिएचएल इसिसी सेवामा समेत शुल्क नलाग्ने व्यवस्था गरेका थिए।
हाल प्रायःजसो सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुला रहेको तथा बन्दाबन्दी समेत खुकुलो भई आवत जावत खुकुलो भइसकेको अवस्थामा साउन एक गतेपछि विद्युतीय कारोबार तथा नगद झिक्न अन्तर बैंक एटिएम प्रयोग गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंक तथा विद्युतीय संस्थाहरु आफैंले निर्धारण गर्ने तथा कनेक्ट आइपिएस एनसिएचएल आइपिएस एनसिएचएल इसिसीसम्बन्धी शुल्क निर्धारण नेपाल क्लियरिङ हाउसले नै गर्ने बैंकर संघले जनाएको छ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै शुल्क लिने नलिने सम्बन्धमा बैंकहरुलाई नै छाडिएको जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।