काठमाडौं– कांग्रेसको पश्चिम नवलपरासीको जिल्ला सभापति विवाद साम्य भएको छ। सहमतिअनुसार जिल्ला सभापतिमा सभापति शेरबहादुर देउवाले मनोनयन गरेका व्यक्तिलाई नै निरन्तरता दिइएको छ।
देउवानिकट विष्णुप्रसाद पौडेल सभापति बनेका छन्। पूर्व सभापति विष्णु लामिछाने र कार्यवाहक सभापति अर्जुन पोखरेलले विगतमा गरेका निर्णयलाई दुवै पक्षले स्वीकार्ने सहमति बनेको छ।
उपसभापतिको पहिलो वरियतामा पोखरेललाई राखिएको छ। तत्कालीन फोरम लोकतान्त्रिकबाट आएका सुवास गिरीलाई दोश्रो वरियताको उपसभापति बनेका छन्।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा तथा मुख्य सचिव कृष्णप्रसाद पौडेलको समन्वयमा जिल्ला नेताहरुबीच सहमति भएको हो। सोमबार जिल्लाका दुई पक्ष नेताहरुलाई बोलाएर प्रवक्ता शर्माले सहमति गराएका हुन्।
नवलपरासी टुक्रिएपछि पश्चिम नवलपरासीको कार्यवाहक सभापतिमा रहेका पोखरेललाई हटाएर पार्टी सभापति देउवाले उनी निकट पौडेललाई जिम्मेवारी दिएका थिए। महामन्त्री शशांक कोइराला पक्षका पोखरेललाई हटाएपछि संस्थापनइतर समूहले विरोध गरेको थियो। पोखरेललाई हटाएको विरोधमा कोइरालाले गत फागुनमा पत्र लेखेर सभापतिको निर्णयको विरोध गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।