काठमाडौं- पछिल्लो समय दोस्रो बजारमा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा दिनदिनै सर्किट लाग्दै आएको छ। बजार सुधार हुने संकेत देखिएसँगै धेरै कमाउने प्रलोभनमा लगानीकर्ताहरु लघुवित्तको शेयर उठाइरहेका छन्। मंगलबार माइक्रोफाइनान्सको सूचक ६४ अंकले सुधार भएको छ। विगत एक महिनादेखि माइक्रोफाइनान्सको सूचकमा सुधार आइरहेको छ।
मंगलबार कारोबार सुरु भएदेखि नै बढ्न सुरु गरेता पनि १२ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेटसम्म सामान्य घटेको थियो। तर कारोबारको अन्तिम घण्टामा बजार सुधार भएर १३४७.४४ अंकमा रोकिएको छ। डिम्याट खातामा अद्यावधिक शेयर मात्रै अर्डर दिन पाउने व्यवस्थाले पछिल्लो समय कारोबार रकम खुम्चिदै गएको छ। मंगलबार १८६ कम्पनीको ९९ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ।
तीन चार महिनादेखि बन्द रहेका होटलको शेयरमा भने उछाल आइरहेको छ। मंगलबार होटलको सूचक ३.७९ प्रतिशतले बढेको छ। एनआइसी एशिया ब्यालेन्स फण्ड र एनआइसी एशिया लघुवित्तको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ। सातवटा उपसूचक घटेका छन् भने ५ उपसूचक बढेका छन्।
आर्थिक वर्ष सकिनै लाग्दा कतिपय लगानीकर्ताले बजार सुधार हुने अपेक्षामा खरिद गरिरहेका छन्। अब बिक्री गरिएको शेयरबाट प्राप्त पैसाले कर तथा व्याज भुक्तानी गर्न मिल्दैन। त्यसैले गर्दा अबको लगानी बजार सुधार हुने अपेक्षामा गरिएको हुन्छ। अन्य क्षेत्रमा लगानी कम हुँदै गर्दा लगानीकर्ताको आकर्षण शेयर बजारमा देखिँदै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।