काठमाडौं- एम्नेस्टी इन्टरनेसनलले कोभिड-१९ को महामारी चलिरहेका बेला स्वास्थ्यकर्मीहरूलाई चुप लगाउने, जोखिममा पार्ने र आक्रमण गर्ने कार्य गरिकोमा यस्तो कार्यको भर्त्सना समेत गरेको छ।
संसारभरीका स्वास्थ्यकर्मीहरूको अनुभवलाई दस्तावेजीकरण गर्दै सोमबार सार्वजनिक गरेको एक नयाँ प्रतिवेदनमा एम्नेस्टीले कोभिड-१९ बाट संरक्षण प्रदान गर्न नसकी भएको स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाकर्मीहरूको मृत्युका लागि सरकार जवाफदेही बन्नुपर्ने बताएको छ।
संसारभरी ३००० भन्दा बढी स्वास्थ्यकर्मीहरूले कोभिड-१९ बाट ज्यान गुमाउनुपरेको तथ्यांक सार्वजनिक गर्दै एम्नेस्टीले यस्तो बताएको हो। यो तथ्याङ्क वास्तविकताभन्दा अझ निकै कम पनि हुन सक्ने एम्नेस्टीले दाबी गरेको छ।
‘हामी कोभिड-१९ बाट प्रभावित सबै देशहरूलाई आफूले महामारीको लागि गरेको तयारी र महामारीविरुद्ध भए गरेका प्रतिकार्यहरूको बारेमा स्वतन्त्र र सार्वजनिक समीक्षा गर्न आग्रह गर्दछौं ताकी भविष्यमा हुनसक्ने अन्य रोगको व्यापक प्रकोपहरूमा मानवअधिकार र जीवनको उचित तरिकाले संरक्षण गर्न सकियोस्’ एम्नेस्टी इन्टरनेसनलको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसम्बन्धी अनुसन्धानकर्ता र सल्लाहकार सनिता अम्बास्टले भनिन्।
एम्नेस्टी इन्टरनेशनलले गरेका केही सिफारिसहरू-
यसमा स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूको उचित र अनुकूल वातावरणको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलगायतका अधिकारहरूको पर्याप्त सुरक्षा गरिएको थियो कि थिएन भन्ने विषयको पनि समीक्षा गरिनुपर्दछ।
राज्यहरूले आफ्नो कामसँग सम्बन्धित गतिविधिहरूका कारण कोभिड -१९ संक्रमण भएका सबै स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूलाई पर्याप्त क्षतिपूर्ति सुनिश्चित गर्नुपर्दछ।
स्वास्थयकर्मीहरूले स्वास्थ्य र सुरक्षासम्बन्धी चिन्ता उठाएका कारण प्रतिशोध सामना गर्नुपरेको घटनाहरूको छानबिन गर्नुपर्दछ।
अन्यायपूर्ण व्यवहार खप्नुपरेकाहरूलाई प्रभावकारी उपचार प्रदान गर्नुका साथै बोलेकै कारण आफ्नो रोजगारी गुमाएकाहरूलाई पुनर्स्थापित गर्नुपर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।