काठमाडौं- भारतबाट दाङ हुँदै नेपाल प्रवेश गरेको सलहको झुण्ड सोमबार बिहान प्युठानको आकाशमा देखिएको छ। यसअघि नेपालमा देखिएका सलहका अरु झुण्डभन्दा तुलनात्मक रुपमा ठूलो समूहमा रहेको अनुमान गरिएको नयाँ झुण्ड बालीनालीमा भने प्रवेश गरिसकेको छैन।
‘अहिले प्युठानको आकाशमा उडिरहेको भन्ने सूचना आएको छ। बालीनालीमा बस्न पाएको छैन,’ सलह सूचना केन्द्रका फोकल पर्सन रामकृष्ण सुवेदीले भने, ‘यो झुण्ड अहिलेसम्म आकाशमै उडिरहेको छ। जसकाकारण यसको संख्या कति छ भन्ने अनुमान गर्न सकिएका छैन। तर, दाङ र प्युठानका कृषक र कृषि अधिकारीले यसअघिको भन्दा ठूलो समूहमा रहेको भनेका छन्।’
आइतबार बिहान साढे ९ बजे भारतको उत्तर प्रदेशको सीतापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डहरुमध्ये एउटा झुण्ड दाङ जिल्लाको गढवा गाउँपालिकाको २ र ३ नं वडाबाट नेपाल प्रवेश गरेको थियो। नेपालको सिमाना नजिकै भारतीय भूमिमा अहिले पनि सलह रहेकाले फेरि नेपाल प्रवेश गर्न सक्ने सम्भावना कायमै रहेको सुवेदीले बताए।
‘नयाँ झुण्ड नेपाल प्रवेश गर्न सक्ने सम्भावना कायमै छ। आज बेलुका वा भोलि बिहानसम्म आईपुग्न सक्छन्,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।