काठमाडौं- इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसका खेलाडी विल्फर्ड जाहालाई सामाजिक सञ्जालमा रंगभेदी सन्देश पठाउने एक १२ वर्षका किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार एस्टोन भिलाविरुद्धको खेलमा जानुअघि आफूलाई सामाजिक सञ्जालमा अपमानजनक सन्देशहरु आएको जाहाले बताएका थिए।
खेलाडीलाई त्यसरी अपमान गर्नु डरपोक र घिनलाग्दो काम भएको प्रशिक्षक रोय हड्सनले प्रतिक्रिया दिएका छन्। प्रिमियर लिगले पनि खेलाडीमाथिको त्यस्तो व्यवहार अस्वीकार्य भएको जनाएको छ।
वेस्ट मिडल्यान्ड्सका प्रहरीले जाहालाई त्यस्तो सन्देश गएको जानकारी पाउने वित्तिकै अनुसन्धान गरेको थियो। जसको केही घन्टामै ती किशोर पक्राउ परेका थिए।
अमेरिकन नागरिक जर्ज फ्लोयडको हत्यापछि विश्वभर रंगभेदविरुद्ध आवाज उठिरहेका बेला खेलाडीमाथि यस्तो व्यवहार भएको हो। फुटबल, क्रिकेट लगायत विश्वभर अन्य धेरै खेलका खेलाडीले रंगभेदविरुद्ध आवाज उठाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।