काठमाडौं- बुधबार राति आएको बाढी-पहिराेमा बेपत्ता भएका सिन्धुपाल्चोकका २० जना अझै भेटिएका छैनन्। बेपत्ताका परिवार, आफन्त, स्थानीयवासी, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत उनीहरुकाे खाेजीमा खटिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बेपत्ताहरुको खोजी गर्न ठूलो जनशक्ति परिचालन गरिएको छ। नेपाल प्रहरीको विपद् व्यवस्थापन महाशाखा सामाखुशीबाट २७ सदस्यीय विज्ञ टोली भोटेकोशी र सुनकोशी नदी किनारमा बेपत्ताकाे खोजीमा सक्रिय छ।
काफ्लेका अनुसार काठमाडाैंबाट आएको टोली विपद्को समयमा खोज तथा उद्धारका लागि विशेष तालिमप्राप्त टोली हो। ‘बेपत्ताको खोजीका लागि स्थानीय जनप्रतिनिधि, सामाजिक संघसंस्था र स्थानीयहरुको समेत सहयोग छ,’ उनले भने, ‘स्काभेटर, डोजरसमेत खोलामा प्रयोग गरिएको छ।’ बढ्दो वर्षासँगै भोटेकोशी र सुनकोशी नदीमा पानीको बहाव उच्च हुने क्रम रोकिएको छैन।
बाढी आएको पानी धमिलो भएका कारण खोजी कार्य सोचेअनुरुप प्रभावकारी हुन सकेको छैन।
यसैबीच बागमती प्रदेशले प्रदेशअन्तर्गत पहाडी जिल्लामा पहिरोका कारण मृत्यु भएका २५ परिवारलाई एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।