काठमाडाैं- कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपाली नागरिककाे उद्धारका लागि थप ४२ वटा उडान हुने भएको छ। सरकारले विदेशमा अलपत्र परेका नागरिककाे उद्धारका लागि गत जेठ ३२ गतेबाट उडान सुरु गरेको थियो।
जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियानको आज अन्तिम दिन हो। अर्काे चरणको उद्धार उडान सुरु हुनुअघि सरकारले दुई दिन उडान रोकेको हाे।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले दाेस्राे चरणामा युएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मेलेसियाबाट नेपाली नागरिकलाई उद्धार गर्ने गरी उडान तालिका तय गरेको छ।
सिसिएमसीले ६ वटा मुलुकमा हुने उद्धार उडानमा नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलायन्सले १६ वटा गरी ३२ वटा उडान गर्ने अनुमति दिने निर्णय गरको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। त्यस्तै विदेशी वायुसेवा कम्पनी एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मेलेसियाको मालिन्दो एयरले ४ वटा उडानकाे अनुमति पाएका छन।
असार ३१ देखि सुरु हुने उद्धार उडान साउन ६ गते मंगलबारसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।