काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्नो कीर्तिमानहरुमा नयाँ कीर्तिमान थपेका छन्। शनिबार राति रियल भायाडोलिडविरुद्धको खेलमा गोलको अवसर बनाएका मेस्सीले गोल र असिस्टमा नयाँ कीर्तिमान बनाएका हुन्।
ला लिगामा एकै सिजन २० भन्दा बढी गोल र २० असिस्ट गर्ने मेस्सी एक्ला खेलाडी हुन्। भायाडोलिडविरुद्ध खेलको १५औँ मिनेटमा आर्टुरो भिडालले गरेको गोलमा मेस्सीले पास मिलाएका थिए। जसले यो सिजन ला लिगामा उनको २० असिस्ट पुगेको छ। यस्तै उनले लिगमा २२ गोल गरिसकेका छन्।
यस्तै मेस्सीले ला लिगामा एकै सिजन सर्वाधिक एसिस्टमा बार्सिलोनाकै पूर्वखेलाडी जाभीसँग बराबरी गरेका छन्। जाभीले २००८–०९ को सिजनमा २० असिस्ट गरेका थिए।
ला लिगामा मात्र होइन युरोपका ठूला पाँच लिगहरुमा हेर्दा पनि एकै सिजन २० असिस्ट र २० भन्दा बढी गोल गर्नेमा मेस्सी दोस्रा खेलाडी हुन्। २००२–०३ को सिजनमा प्रिमियर लिग क्लब आर्सनलबाट थिएरी हेनरीले २४ गोल र २० असिस्ट गरेका थिए।
६ पटकका बालोन डिओर विजेता खेलाडी मेस्सीले अब ला लिगाको बाँकी दुई खेलमा थप कीर्तिमान बनाउन सक्ने अवसर पनि छ।
भायाडोलिडलाई हराएसँगै बार्सिलोनाको ३६ खेलमा ७९ अंक रहेको छ। शीर्षमा रहेको रियल मड्रिडको ३५ खेलमा ८० अंक छ। मड्रिडले सोमबार राति ग्रानडाविरुद्ध खेल्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।