काठमाडौं–सरकारले समुदायमा कोरोना भाइरसको स्थिति पत्ता लगाउन र समुदायमा संक्रमण छ कि छैन भनेर हेर्न देशभर ४५ हजार मानिसकोे पिसीआर परीक्षण गर्ने भएको छ।
त्यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, कोभिड-१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टरको टिमले देशभरबाट नमुना संकलन गर्ने बताइएको छ। सोही अनुसार महाशाखाले उपत्यकामा बिहीबारदेखि स्वाबको नमुना संकलन कार्य सुरु गरिसकेको छ। उपत्यकाका विभिन्न स्थानबाट ७ सय ७ नमुना संकलन गरिसकिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले समुदायस्तरमा कोरोना भाइरसको संक्रमण पत्ता लगाउन उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न कार्यालय र स्थानबाट ५ हजार नमूना संकलन गर्ने लक्ष्य राखेको छ।
देशभर कोरोनाको स्थिति पत्ता लगाउन, कोरोना समुदायमा गए÷नगएको अध्ययन गर्न धेरै मानिसको भीडभाड हुने अस्पताल, बैंक, यातायात कार्यालयका कर्मचारी, सेवाग्राही र अन्य सर्वसाधारण गरी ४५ हजारको नमुना संकलन हुनेछ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सर्भिलेन्स तथा अनुसन्धान शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले उपत्यकामा महाशाखाले र उपत्यका बाहिरको पिसिआर संकलन गर्ने कार्य सिसिएमसीले गर्ने योजना रहेको बताए।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे समुदायमा कोरोना छ कि छैन भनेर मानिसको भीडभाड धेरै हुने स्थानबाट पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिने बताउँछन्।
समग्रमा देशभर कोरोना संक्रमितको संख्या घटे पनि काठमाडौं उपत्यकामा भने संक्रमित बढिरहेका छन्। लकडाउन खुकुलो भएसँगै मानिसको चहलपहल बढेको छ। विभिन्न सेवा प्रदायक कार्यालयहरु समेत खुलिसकेका छन्।
यस्तो अवस्थामा सरकारले लकडाउनपछिको नवसामान्यीकरण मापदण्ड ल्याई सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने र साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न भनेको छ। तर पछिल्लो समय कार्यालयहरुमा देखिएको मानिसको भीडले माथि उल्लेखित नियम पालना गरेको निकै कम देखिन्छ।
मानिसको भीडले सेवा प्रदायकलाई समेत संक्रमणको त्रास रहने गरेको छ। कलंकीस्थित मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत टेकराज अर्याल सर्वसाधारणले सरकारले भनेको नियम राम्ररी पालना नभएको बताउँछन्।
हालसम्म नेपालमा पुष्टि भएका कोरोना संक्रमितमा विदेशबाट आएका मानिस बढी देखिएका छन्। तर केही संक्रमित भने स्थानीय नै छन्। जसको कुनै ट्राभल हिस्ट्री नै छैन। यस्तो अवस्थामा संक्रमण समुदायमा गएको हो कि भन्ने आशंकासमेत बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।