काठमाडौं- लकडाउन अवधिको भाडा तिर्न नसक्ने भन्दै सुन्धारास्थित सिभिल मलका व्यापारीहरुले आफ्नो पसलको चाबी मल संचालकलाई बुझाएका छन्। सिभिल मलभित्र व्यापार व्यवसाय गर्दै आएका १ सय ५ जना व्यापारीले चाबी बुझाएका हुन्।
व्यापारीहरुले लकडाउन अवधिको भाडा पूर्ण रुपमा छुट पाउनुपर्ने भन्दै पछिल्लो केही दिनयता मल संचालनसँग लबिङ गरिरहेका थिए। शुक्रबार पनि मल संचालक र व्यापारीहरुबीच छलफल भएको थियो। तर सबै सटरको भाडा पूर्ण रुपमा छुट गर्न संचालक सहमत नभएपछि व्यापारीहरुले चाबी बुझाएका हुन्।
मल संचालकसँग भाडाको कुरा नमिलेपछि सिभिल मल व्यवसायी संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा ‘३ महिनादेखि बन्द रहेका पसल असार १ गतेदेखि खुलाएपनि व्यापार नभएको तर यहीबेला मल संचालकले भाडा तिर्नका लागि निरन्तर लिखित र मौखिक रुपमा दबाब दिएको’ उल्लेख गरिएको छ। ‘व्यापार नहुँदा पनि सरकारले कर तिर्न ताकेता गर्नु, बैंकले सावा ब्याज भुक्तानी गर्न व्यापारीलाई दबाब दिनु, व्यवसाय बन्द हुँदा पनि कर्मचारीलाई तलब दिनुपर्ने र पसल भाडा तिर्नुपर्ने दवाब हामीमाथि छ’ संघको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।